प्रधानमन्त्री पत्नी आरजु कैलालीमा चुनाव लड्छिन् कि डडेल्धुराबाट समानुपातिक बस्लिन् ?
धनगढीः वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा प्रत्यक्ष र समानुपातिक दुबैमा सर्वसम्मत सिफारिसमा परेकी छन्। डडेल्धुरा काँग्रेसले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको छ। यस्तै कैलालीको क्षेत्रनम्बर ५ बाट पनि उनलाई प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि सिफारिस गरिएको छ।
यसअघि २०६४ र २०७० मा डडेल्धुराबाट समानुपातिकमार्फत सांसद भएकी प्रधानमन्त्री पत्नी राणाको नाम २०७४ पनि डडेल्धुराबाट समानुपातिकमा सिफारिस गरिएको थियो। तर, राणा कैलाली ५ बाट उम्मेदवार बनेकी थिइन्। त्यसबेला बाम गठबन्धनबाट उम्मेदवार बनेका नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा राणा ५ हजार बढी मतले पराजित भइन्।
राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। अहिले पनि आरजु राणासँग सुदूरपश्चिमको हकमा दुई विकल्प छन्। डडेल्धुराबाट समानुपातिक बस्ने कि कैलालीबाट प्रत्यक्ष लड्ने।
डडेल्धुराबाट समानुपातिक भन्दा कैलालीबाट प्रत्यक्ष लड्ने सम्भावना बढी रहेको डडेल्धुरा काँग्रेसका एक नेता बताउँछन्। उनी भन्छन्, ‘२०६४ पछि आरजुको नाम सधैँ सिफारिस हुन्छ। उहाँ डडेल्धुराबाट नेतृत्वमा आउनु पर्नेमा सबैको जोड छ तर, यस पटक उहाँ प्रत्यक्षमै लड्ने सम्भावना छ।’ कांग्रेस कैलालीका नेताहरु पनि आरजुले कैलाली ५ बाटै निर्वाचन लड्ने पक्का जस्तै भएको बताउँछन्।