अस्पतालहरुले रगत परीक्षण नै नगरि बिरामीलाई दिने गरेको खुलासा
अस्पतालहरुले रगतको राम्रोसँग परीक्षण नै नगरी बिरामीलाई दिने गरेको एक रिपोर्टले देखाएको छ। राष्ट्रिय प्राथमिक स्वास्थ्य प्रयोगशाला टेकुले बुधबार सार्वजनिक गरेको राष्ट्रिय हेमोभिजिलेन्स रिपोर्टले बिरामीसामु सही परीक्षण र अनुगमन नै नभइ रगत पुग्ने गरेको देखाएको हो। प्रयोगशालाले २०७३ मा बनाएको रक्तसन्चार निर्दे्शिकालेसमेत सबै अस्पतालहरुमा रक्तसन्चार कमिटी गठन गरी अनुगमन गरेरमात्र रगत बिरामीलाई दिनुपर्ने उल्लेख गरिएको थियो। राष्ट्रिय प्राथमिक स्वास्थ्य प्रयोगशालाले गत वर्षदेखि दुई निजी र दुई सरकारी अस्पताललाई चिकित्सकहरुको निरीक्षणमामात्र बिरामीलाई रगत दिन निर्देशन दिएको थियो। तर, हालसम्म थापाथलीस्थित प्रसूतिगृह र नेपाल क्यान्सर अस्पताललेमात्र अनुगमन र परीक्षण गरेर बिरामीलाई रगत दिने गरेको र सहिद गंगालाल हृदय रोग केन्द्र बाँसवारी र ओम अस्पतालले भने लागू नै नगरेको जनाईएको छ।