सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धन र चुनावी तालमेलप्रति सुदूरपश्चिमेली नेता-कार्यकर्ता असन्तुष्ट

२०७९ असोज २४, १०:२३ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दलहरूबीचको गठबन्धनले नेपाली राजनीतिलाई तताएको छ। एकातिर नेपाली कांग्रेसको नेतृत्वमा सत्तारूढ दलहरूको गठबन्धन बनेको छ। भने, अर्कातर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वमा। सत्तारूढ दलहरूको गठबन्धनमा सिटको बाँडफाँट ठूलो चर्चाको विषय बनेको छ। 

एमाले र पूर्वपञ्चहरूबीचको गठबन्धनबारे पनि अनेक चर्चा छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धन दलहरूबीच चुनावी तालमेलको विषय झनै पेचिलो बनेको छ। सत्ता गठबन्धन दलहरूले देशभर आवश्यकताका आधारमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णयअनुसार आइतबार मनोनयन दर्ता गर्ने काम चलिरहेको छ। यसका लागि तल्लो तहसम्मै छुट्टाछुट्टै सर्कुलरसमेत जारी गरिसकेको छ।
 
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका जिल्लास्तरका नेता÷कार्यकर्ता चुनावी तालमेलप्रति सकारात्मक छैनन्। जनताको चाहनाविपरीत गरिएको तालमेलबाट जिल्लास्तरका नेता तथा कार्यकर्ता कोहि पनि सन्तुष्ट नभएको नेपाली काँग्रेस डोटीका युवा नेता केशबबहादुर बमले बताए। ‘सिद्धान्त र आचरण नमिल्ने तथा जनताको चाहना विपरीतका व्यक्तिलाई टिकट दिएपनि भोट हाल्ने पक्षमा हामी छैनौँ।’
 
विचार र सिद्धान्तभन्दा पनि नेताहरुको छोटो स्वार्थमा केन्द्रित भएर गठबन्धन वा तालमेल गरेर दलका नेता तथा कार्यकर्ता पंक्तिमा चरम असन्तुष्टि रहँदै आएको छ। असन्तुष्टिको स्वर जिल्लास्तरका नेता तथा कार्यकर्तामा झन् चर्को छ। सिट बाँडफाँटसम्बन्धी कार्यदलले प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन दलले कुन निर्वाचन क्षेत्र पाउने भन्ने टुंगो लगाएपछि उम्मेदवार हुन नपाउने दलका नेता तथा कार्यकर्ताको असन्तुष्टि प्रखर रूपमा देखिएको छ। 

जिल्लास्तरबाट टिकटका लागि सिफारिस गरेकै व्यक्तिलाई टिकट दिनुपर्ने माओवादी केन्द्र कैलालीका नेता देबीलाल भण्डारी बताउँछन्। टिकट पाउनकै लागि दलबदल गर्नेको संख्या बढेको जिल्ला स्तरका नेता तथा कार्यकर्ताको गुनासो छ। गठबन्धन वा तालमेल गर्ने दलको निर्णयविरुद्ध बागी उम्मेदवार उठ्ने पनि बढेका छन्। एमालेभित्र पनि नव प्रवेशीलाई टिकट दिँदा पुराना कार्यकर्ता असन्तुष्ट छन्।

नेताहरुले एक हातले पार्टी प्रवेश गर्नेलाई टीका लगाइरहेका छन् भने अर्को हातले टिकट दिइरहेको विषयमा पनि चर्चा भइरहेको छ। गठबन्धनमा उम्मेदवारको टिकट पाउने सम्भावना भएका व्यक्ति निकै हौसिएका र सम्भावना कम हुनेहरूले असन्तुष्टि पोख्न सुरु गरेको एमाले नेता पठानसिंह बोहराले बताए।
 

कमेन्ट लोड गर्नुस