सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ मा एमाले र काँग्रेसका दुई ‘हेभिवेट’बीच महाभिडन्त, को बलियो ? 

संसदीय निर्वाचन 

२०७९ कार्तिक १३, ०४:१४ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुर–२ को निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको छ। जहाँ प्रतिनिधिसभा सदस्यका लागि पुरानै उम्मेदवार चुनाव लड्न पुनः आमनेसामने भएका छन्। यहाँ कांग्रेसका ‘हेभिवेट’ मानिने एनपी साउद र एमाले नेता नरबहादुर धामीबीच प्रतिस्पर्धा हुँदैछ।

कञ्चनपुर–२ बाट २०७४ मा साउद र धामीबीच प्रतिस्पर्धा भएको थियो। तत्कालीन वाम गठबन्धनबाट धामीले उक्त निर्वाचनमा जित हात पारेका थिए। वाम गठबन्धनको बलमा धामीले ३३ हजार २२० मत ल्याउँदा कांग्रेसका साउदले २४ हजार ८९३ मत ल्याएका थिए। अहिले धामीसँग २०७४ को हारको बदला लिने दाउमा गठबन्धनका साथ साउद चुनावी मैदानमा छन्।

यसअघि तीन पटक पराजय भोगेका र दुई पटक जित हात पारेका साउद छैंटौं पटक चुनाबी मैदानमा छन्। धामी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर–३ मा कांग्रेसका बहादुर थापासँग पराजित भएका थिए। सत्तारुढ गठबन्धनले चुनाव जित्ने दाबी गरे पनि जनताले एमालेलाई नै जिताउने दाबी धामीको छ।

उनले भने, ‘सासद हुँदा कञ्चनपुर–२ का लागि सडक, पुल, स्वास्थ्य, शिक्षा, कृषिको विकास लगायतका काम गरेकाले एमालेलाई मतदाताले पुनः निर्वाचित गराउने निश्चित जस्तै भइसकेको छ। सांसद विकास कोषको रकम यस क्षेत्रको विकास निर्माणमा खर्च गरेकाले पनि मतदाताको रोजाईमा एमाले परेको छ। अघिल्लो आम निर्वाचनभन्दा बढि मत ल्याएर विजय हासिल गर्ने गरी मतदातासँगै रहेर चुनावी गतिविधि अगाडी बढाएका छौँ।’

यता, गठबन्धनसहित पुर्वमन्त्री साउद पाँचपटक संसदीय निर्वाचमा होमिएका छन्। २०५१ मा भएको मध्यावदी निर्वाचनबाट संसदीय यात्रा तय गरेपनि एमालेका उर्बादत्त पन्तसँग पराजित भएका थिए। २०५६ मा कञ्चनपुर–३ रमेश लेखकका लागि छोड्दै कञ्चनपुर–१ बाट निर्वाचित भएका थिए। कञ्चनपुर–२ बाटै २०७० को आमनिर्वाचनमा साउद १३ हजार ४१५ मतसहित विजयी भएका थिए। पहिलो पटक शिक्षा राज्यमन्त्री हुँदा शिक्षा क्षेत्रको सुधार दोस्रोपटक सिचाईंमन्त्री हुँदा सिचाईं तथा कृषि क्षेत्रका लागि काम गरेको उम्मेदवारी साउँदको दाबी छ।

उनले भने, ‘आफूले जनताका पक्षमा गरेका कामहरु नै आफ्नो जित्ने आधार हो। साथै सत्ता गठबन्धनसहित निर्वाचनमा केन्द्रित भएकाले जित्ने आधार फराकिलो बन्दै गएको छ। दुई÷दुई पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गर्ने ओलीको कदमप्रति जनता वाक्कदिक्क भइसकेका छन्। त्यसकारण पराकिलो अन्तरले गठबन्धनले जित हासिल गर्ने र संविधानको रक्षा गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको अवस्था हो।’

तर, वामपन्थी र दक्षिणपन्थीको गठबन्धन केका लागि हो भन्ने जनताले बुझेकाले निर्वाचन जित्नेमा कुनै शंका नभएको एमाले नेता धामीको जिकिर छ। १ लाख ७ हजार मतदाता भएको कञ्चनपुर–२ बाट ३६ हजार बढी मत ल्याएर जित्ने धामीले दाबी गरे। तर, उनलाई यो क्षेत्रमा नेकपा विभाजनको असर पनि पर्ने देखिएको छ। यो क्षेत्रमा एमाले तालमेलबिनै एकल रुपमा चुनावी मैदानमा छ।

स्थानीय तहको मतभार
क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणामअनुसार सत्तागठबन्धन बलियो देखिन्छ। यो क्षेत्रमा बेदकोट नगरपालिका ८ नम्बरबाहेक, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। स्थानीय तहमध्ये बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर–उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ।

यहाँ स्थानीय चुनावमा एमाले, कांग्रेस एक्लाएक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर लडेका थिए। यहाँ कांग्रेस र माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धनसँग करिब ३० हजार मत छ। क्षेत्र नम्बर २ अन्तर्गत पर्ने तीन स्थानीय तहमा कांग्रेसका प्रमुखका उम्मेदवार एक्लैले कूल २४ हजार ६७६ मत बटुलेका छन्। एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीसँग पनि १० हजार हाराहारी मत छ।

माओवादीको समर्थनमा बेदकोट नगरपालिकामा मेयरका उम्मेदवार एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र शुक्लाफाँटामा एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका माओवादीका नवराज ऐरले ५ हजार २२५ मत ल्याएका थिए।

यस्तै, एक्लै लडेको कृष्णपुर नगरपालिकामा माओवादीका उम्मेदवार जोगराज चौधरीले ८ हजार २०० र एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलले ६७५ मत ल्याएका थिए। समाजवादीका रेग्मी र बम अहिले एमालेमै फर्किएका छन्। एमालेसँग क्षेत्र नम्बर २ मा १७ हजार बढी मत छ। एमालेका प्रमुखका उम्मेदवारले तीनै स्थानीय तहमा १७ हजार ९८७ मत बटुलेका छन्।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ। कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७,  शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।

माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ।

कमेन्ट लोड गर्नुस