काँग्रेसले ३०-३२ सिटमात्रै जित्छ, प्रधानमन्त्री हुने मान्छे छैन: ओली
धनगढी: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको दाबी गरेका छन् । अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाक्छ ? गठबन्धनको नेता को हो ? भन्ने जवाफ उनीहरुसँग नभएको टिप्प्णी गरेका छन्।
कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे । ‘गठबन्धन की ठगबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भने, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौँ भन्ने विश्वाव नै छैन । सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन। त्यसैले यो गठबन्धनलाई विदा गरौँ ।’
अहिले गठबन्धनका नेताहरुले आफू आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनतालाई ढाट्ने काम गरिरहेको बताएका ओलीले फरक फरक पार्टीका घोषणा पत्र लागु हुने सम्भावना नै नरहेको दाबी गरे । एमालेलाई देख्दा गठबन्धनको सात्तो जाने गरेको जिकिर ओलीको थियो।
ओलीले कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्ने बताउदै बहुमत ल्याउन कठिन भएको र एमालेले नै बहुमत ल्याउन दाबी गरेका छन् ।