कांग्रेस संसदीय दलको निर्वाचन आज
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ। बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ। कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन्।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ। सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन्। समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन्।
महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन्। थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन्। यसैबीच, देउवाको पक्षमा रहेका भनिएका प्रकाशमान सिंह, शशांक कोइराला लगायत नेताको घरमै पुगेर थापाले आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।
