सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाको रोजगारी खुलाउने संकेत, स्वास्थ्य परीक्षण गर्ने सूचीकरण हुन १० दिनको म्याद

। फोटो स्रोत ।
२०७५ चैत्र १३, १०:१७ खबर संवाददाता

सरकारले केही दिनभित्रै मलेसियाको रोजगारी खुलाउने संकेत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सूचना निकालेर कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न भनेपछि यस्तो संकेत देखिएको हो।  मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ।
वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ। 
प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ। यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो। नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ। 
मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो। कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो। मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी अब केही दिनमै खुलाउने तयारी छ। श्रम मन्त्रालय स्रोतकाअनुसार कलिङ भिसा आएका कामदारलाई पहिलो प्राथमिकता दिइनेछ।
 

कमेन्ट लोड गर्नुस