उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि हुने
काठमाडौं: उपसभामुखका निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ।
मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ। ‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता शुक्रबारहुने सचिवालयले जनाएको छ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार ४ः१५ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हुने योगीले जानकारी दिए।