सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० वर्षदेखि फरार सुचीमा थिए सांसद चौधरी, प्रहरीले अदालतको जिम्मा लगायो

२०७९ माघ २०, १०:१३ खबर संवाददाता

धनगढीः १० वर्षदेखि अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी बिहीबार लुम्बिनी प्रदेश बाँके जिल्लाको बैजनाथपुरबाट पक्राउ परे। ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय भुक्तान नगरेका सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

सांसद चौधरीलाई पक्राउ गरेकोमा नागरिक उन्मुक्ति पार्टीले भने विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ भने कैलाली क्षेत्र नम्बर २ मा पक्राउको विरोधमा प्रदर्शन भएको छ। २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो। 

त्यतीबेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो। अदालतले फैसला गरेपनि यसअघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन।
अरुण चौधरी २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईँसँगै लम्की–चुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए।

मेयरमा उनी पराजित भए। २०७४ सालमै उनी कैलाली क्षेत्र नं २ को प्रदेशसभा ९ख० बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचन लडेका थिए। नेकपा माओवादी केन्द्रका नन्दबहादुर साउँदसँग उनी ८ सय ४५ मतले पराजित भएका थिए। २०७९ मंसिर ४ गते नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेर उनी सांसद बन्न सफल भएका हुन्।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईँले प्रतिनिधिसभा सदस्य रहेका अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए। 

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले २०७० बैशाख ९ गते तीन जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतीबेला नै पत्र पठाए पनि यसअघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन्। बिरबहादुरलाई बुधवार पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए।

वीरबहादुर चौधरीले शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायधिश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीरबहादुर चौधरी पक्राउ प्रकरणसँगै यो विषयले चर्चा पाएको थियो। 

पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई श्री एयरलाइन्साबाट विहिवार बेलुकीको चौधरीलाई काठमाडौबाट धनगढी ल्याइएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। आजै कैलाली जिल्ला अदालतमा बुझाइने प्रहरीले बताएको छ। कोहलपुरमा बिहीबार दिउँसो पक्राउ परेका उनलाई बिहीबारनै काठमाडौ लगिएको थियो।

सुरक्षाको स्थितिलाई ध्यानमा राखेर उनलाई स्थल यातायातबाट नभइ हवाई माध्यमबाट धनगढी ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले सांसद चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालतमा उपस्थित गराइएको हो। उनलाई अदालतको फैसला कार्यान्वयन गराउन अदालतमा पेश गरिएको डिएसपी बेदप्रकाश जोशीले बताए। 

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर सांसद चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद सजाय भुक्तान नगरेरै मंसिर ४ को चुनावमा उम्मेदवार बनेर कैलाली २ बाट विजय भएका थिए। अदालतले तोकेको कैद सजाय भुक्तान नगरेपछि चौधरी फरार सूचीमा थिए। नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको लागि २४ घण्टे अल्टिमेटम समेत दिएको छ।

यस अवधिमा चौधरी रिहाइ नभए आन्दोलन गर्ने उन्मुक्तिको चेतावनी छ। सरकार र तत्कालीन आन्दोनकारी थरुहट थारुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सुनियोजित ढंगले सांसद चौधरीलाई पक्राउ गरिएको उन्मुक्तिको आरोप छ।

कमेन्ट लोड गर्नुस