सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तामा वाम–दक्षिणपन्थी खिचडी गठबन्धनः माधव नेपाल

२०७९ माघ २१, ०३:१६ खबर संवाददाता

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भनेका छन्। शनिबार सुरुभएको पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गर्दै गठबनधनको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको उल्लेख गरेका छन्। 

‘यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन्।’ प्रतिवेदनमा नेपालले लेखेका छन्, ‘यो गठबन्धन प्रगतिशील चरित्रको छैन। यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन।

त्यसैले यो विचारहिन र अराजनीतिक चरित्रको छ। यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ।’आजको अवस्था हिजो दुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम भएको नेपालको ठहर छ। ‘तिनै केपी ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन्। उनले आफ्नो दृष्किोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्फ लाने प्रयत्न गर्दैछन्।’ नेपालले प्रतिवेदनमा लेखेका छन।

उनले सत्ता गठबन्धनले निर्माण गरेको सरकार पनि प्रगतिशील नभइ खिचडी चरित्रकै भएको टिप्पणी गरेका छन्। चार–चारजना उपप्रधानमन्त्री राख्नु, स्वार्थ बाझिने गरी मन्त्रीहरु नियुक्त गर्नु, राजनीतिक रुपमा अपरिपक्व व्यक्ति मन्त्री भएको उनको जिकिर छ। 
‘सत्ता गठबन्धनका नेता र मन्त्रीहरूका अभिव्यक्ति र प्रतिबद्धताहरू यथार्थसँग पटक्कै मेल नखाने खालका छन्।

उनीहरूका अभिव्यक्तिबाट संविधान, गणतन्त्र र सङ्घीयतामाथि खतरा पैदा भएको छ।’ नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘त्यसले गर्दा जनतामा नकारात्मक प्रभाव पर्न थालेको छ। गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको छ। राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको छ।’
 

कमेन्ट लोड गर्नुस