विकासका लागि स्थिर राजनीति आवश्यकः मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासका लागि स्थिर राजनीति आवश्यक हुने बताएका छन्।
प्रदेश सरकारको आयोजनामा धनगढीमा आइतवार आयोजना गरिएको प्रजातन्त्र दिवसमा मुख्यमन्त्री शाहले विकास र सम्वृद्धिका लागि स्थिर राजनीति हुनुपर्नेमा जोड दिएका हुन्।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशको आर्थिक सम्वृद्धिका लागि स्थिर सरकार आवश्यक हुने बताए। प्रदेश सरकारले आइतवार धनगढीमा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।
मुख्यमन्त्री शाहले सरकार परिवर्तनले प्रदेश तथा देशमा सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, आर्थिक सम्वृद्धिलगायत सुशासन नहुने बताए। प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाह लगायतले सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गरेका छन्।
धनगढी चौराहदेखि आन्तरिक मामिला तथा कानून मन्त्रालयसम्म प्रभात फेरीको आयोजना समेत गरिएको थियो। प्रभातफेरीमा प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी लगायको सहभागिता थियो।
कानून मन्त्रालयको कार्यक्रममा मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्यहरु, धनगढी उप–महानगरपालिकाका नगर उपप्रमुख कन्दकला राना, प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो।