सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिमा एमाले,काँग्रेस,लोसपा सहित तिन दलको दाबी निर्णायक भूमिकामाः प्रचण्ड

२०७९ फाल्गुन ९, ०९:३४ खबर संवाददाता

काठमाडौः भावी राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गरी फागुन २५ गते चुनाव गराउने कार्यतालिका बनेको छ।

राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न चार दिनमात्रै बाँकी रहँदा नेताहरुको दौडधुप बाक्लिएको छ। संसद्को ठुलो दल नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम चर्चामा छ। कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाले समेत राष्ट्रपति निर्वाचनमा आफूहरुलाई साथ दिने कांग्रेस नेताहरुको दाबी छ।

तत्कालीन पाँच दलीय गठबन्धन बिउँताएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न कांग्रेस नेताहरु लागिपरेका छन्। यो गठबन्धन भत्काएर आफू सरकारमा जाने कांग्रेसको रणनीति छ। पार्टीका वरिष्ठ नेता पौडेल राष्ट्रपतिको उम्मेदवार हुने भन्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सहयोगका लागि औपचारिक प्रस्ताव गरिसकेका छन्।

उता,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन दौडधुपमा लागेका छन्। गत आइतबार राति वरिष्ठ नेता पौडेलसहित कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला लगायतले प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरेका हुन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टी बैठक बसेर छलफल गरेपछि मात्रै राष्ट्रपतिका विषयमा स्पष्ट पार्न सकिने बताएका थिए।

एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन। गत पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ।

एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड देखिएका छन्। संसद्को वर्तमान समीकरण तरल देखिएका कारण पनि पाँच वर्षसम्म संसद टिकाउन एमाले बाहेकबाट राष्ट्रपति बनाउन आवश्यक रहेको माओवादी नेताहरुको भनाइ छ।

कमेन्ट लोड गर्नुस