राष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताएका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको तर अहिलेका दुबै उम्मेदवार सक्रिय राजनीतिबाट आएको हुनाले निष्पक्षताको आशा गर्न नसकिने बताए।
‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र गत निर्वाचनमा एउटा एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएको हुनाले अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं’ लिङ्देनले निर्वाचनमा पार्टी तटस्थ बस्नुको प्रमसख कारण यहि भएको बताए।