पार्टीको तेस्रो वरियतामा रहेका न्यौपानेले गरे नेकपा एस परित्याग
काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन्।
माधवकुमार नेपाल र झलनाथ खनाल पछिको तेस्रो वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन्। न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन्।
आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ। नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए। 
