सुदूर नेपाललाई विश्वसँग जोड्दै

६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक

। फोटो स्रोत ।
२०७५ चैत्र २२, ०२:४४ खबर संवाददाता

वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाएको छ। आफूले ल्याएका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीलाई विभागले कालोसूचीमा राखेर कामदार लान रोक लगाएको हो। नेपालमा भनिएको सम्झौता अनुसारको काम र सेवा सुविधा नपाएको गुनासो बढेपछि विभागले धेरै गुनासो आएका कम्पनीहरुलाई कालोसूचीमा राखेको हो। 

कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन्। त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ।

गएका व्यक्तिले समस्या परेर दिएको उजुरीका आधारमा विभागले  कालोसूचीमा राख्ने गरेको छ। कालोसूचीमा राखेका कम्पनीका लागि विभागले श्रम स्वीकृति दिँदैन।  कालोसूचीमा परेका कम्पनीमा म्यानपावरले पनि कामदार पठाउन पाउने छैनन्।

यसका बारेमा झुक्याएर कहिलेकाहीँ कामदार पठाएको पाइएको थियो। तर अहिले सबै अनलाइनबाटै हेर्न सकिने व्यवस्था गरिएकाले यो सम्भावना नहुने विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बताए। ‘योभन्दा अघि जाने मान्छेलाई पनि आफू जान लागेको कम्पनी कस्तो हो भन्ने थाहा हुँदैनथ्यो तर अहिले यो कुरा विभागको वेबसाइडमै हेर्न सकिने भएकाले झुक्याउने र झुक्किने सम्भावना नहुने उनले बताए। 

कमेन्ट लोड गर्नुस