डिल्ली चौधरीद्धरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस
डिल्ली चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीवार आफ्नो दाबी पेश गरेका हुन्।
उनको समर्थनमा ८ दलका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। चौधरीलाई कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ।
एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो।