गेटामा विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा राजनीतिक दलको एक्यवद्धता
धनगढीः गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा कैलालीका राजनीति दलहरूले एक्यवद्धता रहेको जनाएका छन्। सोमवार धनगढी पार्कमोडमा भएको सडक बहसमा राजनीति दलका नेताहरूले आन्दोलनमा एक्यवद्धता रहेको बताएका हुन्।
सोमवार साँझ ५ बजे धनगढीको पार्क मोडमा भएको सडक बहस नेपाली काँग्रेसका कैलाली जिल्ला उपसभापति भीम बडुवाल, नेकपा एमालेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विमलप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य घनबहादुर शाह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका धनगढी नगर अध्यक्ष दानबहादुर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कोषाध्यक्ष जसुकुमारी भट्टले सडक बहसमा बोल्दै विश्वविद्यालय स्थापनार्थ हुने आन्दोलनमा समर्थन रहेको बताएका हुन्।
यस्तै, क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रुद्र कँडेल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहप्राध्यापक हरिकृष्ण कडायतले विश्वविद्यालय स्थापना गर्न हुने आन्दोलनमा सम्पूर्ण सुदूरपश्चिमवासीले एकजुट हुनुपर्ने बताएका छन्। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका अध्यक्ष लोकराज पाण्डे आगोको अध्यक्षतामा भएको सडक बहसमा धनगढी नगरवासीको सहभागिता रहेको थियो।
संघर्ष समितिले मङ्गलवार बिहान ८ बजे धनगढी क्याम्पस रोडबाट ¥याली निकाल्ने जनाएको छ। ¥यालीमा सहभागी हुन नगरवासीलाई आग्रह गरिएको छ।