समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी
काठमाडौँः विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनाउन लागिएको मोर्चालाई चारै दलका शीर्ष नेताले आलोपालो प्रणाली अनुसार नेतृत्व गर्ने जनाइएको छ। मोर्चाका लागि प्रतिबद्धता पत्रको मस्यौदा निर्माण भइरहेको छ। मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ।
मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ। मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ।
मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिरया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ।