राष्ट्रिय स्वतन्त्र पार्टीले मनायो प्रथम स्थापना दिवस
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिले प्रथम स्थापना दिवस मनाएको छ।
धनगढीमा बिहीवार एक औपचारिक कार्यक्रम गरेर प्रथम स्थापना दिवस मनाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट प्रमुख अतिथि रहेका थिए।
गत वर्ष असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको थियो। गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो।
सुदूरपश्चिम प्रदेशमा संगठन विस्तारको चरणमा रहेको रास्वपामा दैनिक सदस्य जोडिने क्रम रहेको रास्वपा सुदूरपश्चिमले जनाएको छ।
प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रास्वपाका नेता र सनर्थकहरूको उपस्थिति रहेको थियो।