अश्लेषालाई‘प्रेमगीत’ निर्माताकै भर
अश्लेषा ठकुरी, 'प्रेमगीत २' बाट उदाएकी अभिनेत्री हुन् उनी । तर, डेब्यु फिल्म उनका लागि फलदायक रहेन । फिल्म हिट भएपनि सबै क्रेडिट अभिनेता प्रदीप खड्काले आफ्नो भागको पोल्टामा कसे ।
अभिनेत्री ठकुरी अभिनेता खड्काको स्टारडमको छायाँमा परिन् । फिल्म रिलिज अगाडी होस् वा हलबाट उत्रिसक्दा पनि उनी चर्चा विहीन रहिन् । धेरैले 'प्रेमगीत २' उनको पहिलो र अन्तिम फिल्मसम्म भने ।
डेब्यु फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको त टाढाको कुरा कुनै निर्माता/निर्देशकले फिल्म अफर गरेको खबरसम्म बाहिरिएन । हालैमा उनी नयाँ फिल्म 'मेरी मामु' मा अनुवन्धित भएकी छन् ।
यो फिल्मलाई अरु कसैले होइन 'प्रेमगीत' निर्माता सन्तोष सेनले बनाउँदैछन् । आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई लिड रोलमा लिँदै उनले एक आमा र छोराको कथामा पारिवारिक फिल्म बनाउन लागेका हुन् । अहिले यसको छायांकन चलिरहेको छ ।
याम थापाको कथा तथा निर्देशन रहने फिल्ममा अश्लेषाको जोडी 'रानी' फेम अभिनेता सारुक ताम्राकारसँग बाँधिएको छ । प्रदीपसँग काम गर्ने अभिनेत्रीहरुको नेपाली फिल्म क्षेत्रमा भविष्य राम्रो हुन्छ भनिन्छ । यसको ताजा उदाहरण 'प्रेमगीत' अभिनेत्री पूजा शर्मा र 'लिलिबिली' अभिनेत्री जसिता गुरुङ्ग हुन् ।
तर, किन 'प्रेमगीत २' अभिनेत्री अश्लेषा भने फेरि 'प्रेमगीत' निर्माताकै भर पर्नुपर्यो ? बाहिरी ब्यानरका फिल्मले कतै नपत्याएका त होइनन् ? पुनः अश्लेषा 'प्रेमगीत' निर्माण कम्पनी आशुसेनकै ब्यानरसँग जोडिनुले यस्ता अनेकौं प्रश्नलाई जन्म दिएको छ ।
आशा गरौँ, भोलीका दिनमा अभिनेत्री ठकुरी 'प्रेमगीत' निर्माताकै ब्यानरमा मात्र सिमित रहने छैनन् ।