असार १५ मा ए सोल्टिनी
कमेडी प्रेमकथानक फिल्म ए सोल्टिनी असार १५ गतेदेखि प्रदर्शन हुने भएको छ । केही समयअघि गीत र ट्रेलर सार्वजनिक गरिएको फिल्म रिलिजबारे निर्देशक निमा लामा तामाङले जानकारी दिएका हुन् ।
जिम्बा फिल्म्स प्रोडक्सनको ब्यानरमा पूर्णी तामाङको प्रस्तुति र दिलकुमार घलान तामाङ निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मञ्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, अनिता गोले, गंगा रानामगर, बिबी रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतले अभिनय गरेका छन् । आरआर फिल्मले वितरण गर्ने फिल्म काठमाडाैं उपत्यकावरपर खिचिएको हो ।
तामाङ भाषाका एक दर्जनभन्दा बढी फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनका नेपाली भाषाका दोषी को र परदेशले लुटेको सपना निर्माणाधीन छन् । निर्देशक निमा ए सोल्टिनी निकै रमाइलो बनेकाले दर्शकले मन पराउने विश्वासमा छन् ।
सोल्टिनीको माया पाउन दुई सोल्टाहरूले गर्ने विविध हर्कत र संघर्षलाई प्रस्तुत गरिएको फिल्म मनोरञ्जनका सबै खजानाले भरिएको निर्माता दिलकुमार बताउँछन् । विश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र विनय केटुको संगीत छ । असार १५ मा अरू कुनै फिल्मले मिति नतोकेकाले ए सोल्टिनीले सोलो रिलिज पाउने देखिएको छ ।