सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपत्यकाका लाग्यो बक्स अफिस

२०७५ साउन २, ०८:५९

चलचित्र निर्माता तथा वितरकहरुको सधैं एउटै गुनासो रहने गरेको थियो, 'बक्स अफिस प्रणाली लागु नहुँदा हामी मर्कामा पर्‍यौं ।' हल सञ्चालकहरुले शोसमेत गायब गर्ने गरेको उनीहरुको दाबी थियो । 
 अब भने यो गुनासोबाट निर्माताहरुले छुटकारा पाउने भएका छन् । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरे । 
 राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ । बाँकी केहि हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ । 
 सञ्चारमन्त्री बाँस्कोटाले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, 'अब निर्माताले घर-घडेरी डुबाउनु पर्ने दिन आउने छैन । कलाकारले आफ्नो मिहेनतको पारिश्रमिक पाउनेछन् । राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य भएको छ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।' 
 मन्त्री बाँस्कोटाले भने, ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ उनले हलहरुको वर्गिकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने पनि घोषणा गरेका छन् । 
बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । सबैको अनुहारमा बक्स अफिस लागू हुँदाको खुसी देख्न सकिन्थ्यो । निर्माताहरु अब आफ्नो फिल्मको वास्तविक कलेक्सन एकै ठाउँबाट हेर्न पाउनेमा खुसीले दंग देखिएका थिए । 
 बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रम पश्चात् फिल्मीखबरको टीम चावहिलमा रहेको गोपीकृष्ण हल पुग्दा फिल्म हेर्न हल पुगेका दर्शकको हातमा डिजिटल टिकट देख्न सकिन्थ्यो । टिकट काउन्टरभित्र गोपीकृष्णका कर्मचारीहरु पसिना चुहाउँदै कम्प्यूटरमार्फत् टिकट काट्न व्यस्त देखिन्थे । 
के हो ‘बक्सअफिस’ ? 
तपाई फिल्मी दुनियाँसँग नजिक हुनुहुन्छ भने फिल्म रिलिजदेखि कलेक्सन रिपोर्टसम्म त पक्कै ध्यान दिनुहुन्छ होला ? त्यसो भए तपाईले ‘बक्सअफिस’ नामको शब्दसँग धेरै पटक साक्षात्कार गर्नुभएको छ ।
 तर, के कहिले यो जान्ने कोशिश गर्नुभयो ? आखिर यो ‘बक्सअफिस’ भनेको के हो ? वा ‘बक्सअफिस’ शब्दसँग फिल्म कलेक्सन किन जोडिएको छ ? यदी तपाईहरु यो कुराबाट अनविज्ञ हुनुहुन्छ भने, यो आर्टिकल तपाईहरुकै लागि हो । 
 फिल्मको सफलता नाप्ने सर्वमान्य तरिका हो ‘बक्सअफिस’ । फिल्मले कति पैसा कमायो भन्ने यसबाट निर्माताले सजिलै थाहा पाउन सक्छन् । ‘बक्सअफिस’ सिस्टम जडान हुँदा वितरकले चुरोटको खोलमा दिने फिल्मको हिसाब-किताबबाट निर्माताले छुटकारा पाउने छन् । 
 ‘बक्सअफिस’ शब्दको प्रयोग फिल्म र थिएटरको विजनेशका लागि हुने गर्छ । ‘बक्सअफिस’ वा ‘टिकट अफिस’, त्यो ठाउँलाई भन्छिन्, जहाँबाट सिनेमा हल वा थिएटरमा पस्नका लागि टिकट आवश्यक पर्छ । त्यही टिकटको बिक्रीको आधारमा ‘बक्सअफिस’ को कमाई निर्धारण हुन्छ । 
 प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् । 
नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेको भएता पनि सिंगल थिएटरमा यो प्रयोगमा थिएन । 
 ‘बक्सअफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।

कमेन्ट लोड गर्नुस