कता हराइन अभिनेत्री आना ?
सुपरस्टार अनमोल केसी स्टारर फिल्म जेरी बाट डेब्यु गर्दा अभिनेत्री आना शर्माको ठूलै हल्लाखल्ला थियो । फिल्म प्रदर्शन पश्चात् अधिकांश उनको अभिनयको तारिफ गर्ने भेटिए । यसपछि उनलाई नेपाली फिल्मले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको थियो ।
डेब्यु फिल्म रिलिजको २ वर्षसम्म काँचको पर्दाबाट टाढा रहेकी उनलाई फेरि जेरी निर्देशक हेमराज विसीले नै कमब्याक गराए । फिल्म थियो ग्याङ्गस्टर ब्लूज। यसमा अभिनेता आशिरमान देशराज जोशी लिड रोलमा थिए ।
रिलिजपूर्व फिल्म बक्सअफिसमा हिट साबित हुने फिल्मी पण्डितहरुको आँकलन थियो । तर, रिजल्ट पूरै विपरित आयो । इनिसियल व्यापार केही राम्रो रहेपनि फिल्मले बक्सअफिसमा सफलताको झण्डा फहराउन सफल भएन ।
यसको घाटा निर्देशकदेखि कलाकारसम्मलाई पर्यो । निर्देशक विसीको खातामा फेरि दोस्रो पटक फ्लप फिल्मको छायाँ पर्यो भने आशिरमानलाई करिअरको सुरुवातमा नै नमज्जाको झट्का लाग्यो । उता आनालाई हिरोइन लिएर फिल्म बनाउने सोच बनाएका निर्माताहरु कुना पस्न थाले ।
अभिनेत्री शर्मा अचेल कुनै नयाँ प्रोजेक्टमा आबद्ध भएको खबर प्राप्त छैन । फिल्मभन्दा बरु उनको लभ लाइफ भने यतिबेला खुब चर्चामा छ । आना अचेल सोनाम छिरिङ शेर्पासँगको प्रेममा रमाइरहेकी छन् । ग्याङ्गस्टर ब्लूज रिलिजताका यी दुईको प्रेम छताछुल्ल भएको थियो । उनले हातमा आएका केही राम्रा प्रोजेक्ट पनि अस्विकार गरेको खबर प्राप्त छ । कतै यसको पछाडि सोनामसँगको प्रेम सम्बन्ध त बाधक बनिरहेको छैन ?