सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलेनन् चार फिल्म

२०७५ असार ३१, ०८:५२

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका चार फिल्म हुन् ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ । 
तेस्रो सातामा प्रदर्शनरत बलिउड फिल्म 'सञ्जू' को वर्चश्वका बीच हलमा लागेका यी चार नेपाली फिल्मले बक्सअफिसमा कस्तो व्यापार गरिरहेका छन् ? सबैका लागि चासोको विषय रहन सक्छ ।  
 चारै फिल्मका निर्माता/निर्देशकले आफ्नो फिल्मको बक्सअफिस कलेक्सन राम्रो रहेको दाबी गरेता पनि कुनैपनि फिल्मले अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । हरेक दिन परिरहेको मुसालधारे पानी यी फिल्मको व्यापारमा 'भिलेन' बनेको छ । 
 सिंगल थिएटरमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘वीराङ्गना’ र अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘बाबु कान्छा’ लाई दर्शकको साथ राम्रै मिलेपनि मल्टिप्लेक्समा अवस्था दयनिय छ । शुक्रवार औषत रहेको दुवै फिल्मको बक्सअफिस कलेक्सन शनिवार भने केही बलियो रह्यो । 
  ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् भने ‘बाबु कान्छा’ का निर्देशक शोभित बस्नेत हुन् । उता मल्टिप्लेक्समा एक शो पनि नपाएको अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपाने अभिनीत फिल्म ‘यो पागल मन’ लाई सिंगल हलकै भर छ । 
 शुक्रवारभन्दा हलमा फिल्म हेर्ने दर्शकको संख्या शनिवार बढी रहेको निर्देशक कल्याण अधिकारीले जानकारी दिए । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण आइतवारबाट फिल्मले पिकअप लिने उनको विश्वास छ । 
 यस्तै, उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ ले सिंगलभन्दा मल्टिप्लेक्समा आशातित व्यापार गरेको छ । शुक्रवार औषत रहेपनि शनिवार फिल्मले राजधानीका अधिकांश मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाएको छ ।
 ‘बोबी’ का निर्माता तथा निर्देशक मिलन चाम्स दर्शकबाट मिलेको 'गूड फिडब्याक' ले उत्साहित भएको बताउँछन् । 
 सार्वजनिक विदाको दिन (शनिवार) हलमा दर्शकको चाप राम्रो देखिँदैमा दंग पर्नु मुर्खता हुनसक्छ । फिल्म बक्सअफिसमा डुब्ने वा तैरने ? आइतबारदेखिको व्यापारमा भर पर्छ । 

कमेन्ट लोड गर्नुस