छायाकंन हुँदै ‘छक्का पञ्जा ३’ को गीत
दसैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘छक्का पञ्जा ३’ को छायाकंन अन्तिम चरणमा छ । अन्तिम चरणको छायाकंन अन्तर्गत निर्माण पक्षले सिनेमाका केही सिनहरु रिशुट गरेको छ । यसका साथै यतिबेला सिनेमामा समावेश दोस्रो गीत छायाकंनका लागि ‘छक्का पञ्जा ३’को टोली नवलपरासी पुगेको छ ।
नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा सिनेमामा समावेश ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीतको छायाकंन भैरहेको छ ।
गीत छायाकंनका लागि सिनेमाका मुख्य कलाकारहरुसँगै निर्देशक दीपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका छन् । निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी गु्रपको परिसरमा सिनेमामा समावेश गीतको छायांकन भैरहेको छ । छायांकनरत गीतमा अर्जुन पोखरेलको संगीत छ भने गीतका शब्द दीपकराज गिरीले लेखेका हुन् । यो गीतमा सिनेमाका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ ।
पहिलो गीत ‘पहिलो नम्बरमा’ले चर्चा पाइरहेको समयमा दोश्रो गीतले पनि त्यस्तै उचाइ लिने विश्वास निर्माण पक्षको छ ।