नेपाली फ्रिल्म खेल्दै तेरिया
२०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन ९’ की विजेता तेरिया फौजा मगरले अब नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्म मायाको मोलमा काम गर्न लागेकी हुन् । तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले यो फिल्मको अफर गरेका थिए । सुरुमा काम नगर्ने बताएपनि पछि उनी फिल्म गर्न राजी भएकी हुन् । सुजनले म्याक टेन कालुलाई हिट बनाउन तेरियालाई फिल्ममा लिन आफूले पहल गरेको बताए ।
यो फिल्म उनले बिना पारिश्रमिक गर्ने बताइएको छ । सुजन भन्छन्, उनले फिल्मका लागि १ महिना समय दिनेछिन् । त्यसका लागि उनले एक रुपैयाँ पैसा नलिने बताएकी छिन् । फिल्म मायाको मोलमा तेरियालाई सुहाउँदो भूमिका रहेको उनी बताउँछन् । यसअघि पटुकी नामक फिल्म निर्माण गरेको म्याक टेनले तेरियाले अभिनय गर्ने फिल्मको निर्देशन भने आफैंले गर्नेछन् । अहिले फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । फिल्मका गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् ।
निर्देशक म्याक टेनले भने, तेरिया अहिले मुम्बईमा हुनुहुन्छ । असार २८ गते नेपाल आउनु भएपछि एक कार्यक्रम गरेर फिल्मको घोषणा गर्नेछौ । फिल्ममा उहाँको अपोजिटमा आफ्नै छोरालाई प्रस्तुत गर्दैछु । मायाको मोलु मा बिर्जन मिजारले तेरियासँग रोमान्स गर्नेछन् ।