नेपाल आयडल २ मा धनगढीकी अर्की सन्ध्याको स्वरको जादु चल्छ होला ?
पहिलो पटक गत बर्ष भएको नेपाल आयडलमा धनगढीकी सन्ध्या जोशीको स्वरको जादु नै चल्यो । जोशीले सयौँ प्रतिस्पर्धीलाई पछाडी पार्दै उत्कृष्ट ९ सम्मको यात्रा तय गर्न सफल भईन् । यही विहिवारदेखि मात्रै नेपाल आयडल २ सुरु भएको छ । धनगढीमा भएको अडिसनमा नेपाल आयडल २ का लागि संगिता (सन्ध्या) जोशी पनि छनौट भएकी छिन् । उनलाई सरस्वती मावि सेहरीमा कक्षा ५ मा अध्ययन गरिरहेका बेला पहिलो पटक गीत गाएको सम्झाना छ । पहिलो पटक विद्यालयमा गीत गाउदा धेरैले तारिफ गरे र त्यहीबाट आफुभित्र गायन क्षमता छ भन्ने जानकारी पनि भयो ।
गोदावरी नगरपालिका वडा नम्वर ९ धनचौरीकी जोशीले उच्च शिक्षा अध्ययनका क्रममा धनगढी आएपछि धेरै साहित्यिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका पाईन् । यस्ता कार्यक्रममा उनको स्वरको जादु चल्न थालेको त २÷ ३ बर्ष नै भईसकेको छ । स्थानीय सञ्चार माध्यममा पनि कार्यक्रम सञ्चालनको मौका पाएपछि उनले आफ्नो स्वरमा थप निखारता ल्याउन सफल भईन् ।
नेपाल आयडलको अडिसन धनगढीमा पनि हुने जानकारी पाएपछि सहभागिताका लागि उनलाई प्रोत्साहन दिईरहने नाम हो तेज पुरुष । जोशीको स्वरमा नेपाल आयडल जित्न सक्ने क्षमता भएको भन्दै पुरुषले प्रोत्साहन दिईरहेका थिए । नेपाल आयडलको अडिसनमा देउडा गित गाएकी जोशीको स्वर तीनै जना निर्णायकहरुले मन पाराए । नेपाल आयडलको पहिलो श्रृंखलामा धनगढीकै सन्ध्या जोशीले उत्कृष्ट ९ सम्मको यात्रा तय गर्न सफल भएका बेला दोश्रो श्रृंखलामा धनगढीकी, संगीता (सन्ध्या) जोशीले कहाँ सम्मको यात्रा गर्न सफल हुन्छिन त्यो भने हेर्न बाँकी छ ।