प्रेममय तिमी हुन्छौ जहाँ जहाँ
हरेक साता दुईदेखि तीन वटासम्म नेपाली चलचित्र प्रदर्शन हुने गरेका छन् । तर असारको झरीलाई चुनौती दिँदै चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ एकल प्रदर्शन हुँदै छ ।
यो चलचित्रमा मनीषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय छ । यो चलचित्रमा वर्षा शिवाकोटी अतिथिको भूमिकामा छिन् ।
यो चलचित्र राजधानी र मोफसलका ७५ वटा सिनेमा हलमा प्रदर्शनीमा आउने तयारीमा छ । अर्को नेपाली चलचित्र प्रदर्शनी नभएकाले आफ्नो चलचित्र एक्लै प्रदर्शनमा आउन लागेको यसका निर्माता मदन दवाडीले सञ्चारकर्मीलाई बताएका बताए ।
यो चलचित्रलाई मदनसँगै डालचन्द्र दवाडी, प्रकाश बास्कोटा र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । अहिलेका पुस्तालाई लक्षित गरेर यो चलचित्र निर्माण गरिएकाले तिमी हुन्छौ जहाँ जहाँले दर्शकको मन जित्ने जिकिर निर्माता मदनको छ ।
तिमी हुन्छौ जहाँ जहाँलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । जसमा कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ । यो साता बुटबल, नारायणघाट, हेटौंडा, विराटनगर, इटहरी, धरानलगायतका सहरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । यसरी राजधानी र मोफसलमा विभिन्न कार्यक्रमपछि सिनेमालाई रिलिज गरिएको हो । यो चलचित्रको शीर्ष गीत यतिबेला चर्चामा छ ।
यो चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् । विकासका अनुसार चलचित्र तिमी हुन्छौ जहाँ जहाँ प्रेम कथामा आधारित छ । त्रिकोणात्मक प्रेमकथा भनिए पनि यसमा आदर्श प्रेम प्रस्तुत गरिएको पनि उनले बताए ।