भारतपछि हलिउड छोड्दै प्रियंका
अहिले बलिउड अभिनेत्री प्रियंका चोपडाको जति चर्चा अन्य कलाकारको छैन । निक जोनससँगको प्रेम सम्बन्धका कारण चर्चामा आएकी उनी सलमानसँग खेल्न लागेको ‘भारत’ फिल्मबाट बाहिरिएपछि झनै चर्चामा आइन् ।
फेरि अर्को खबर आयो कि प्रियंकाले निकसँग इन्गेजमेन्ट गरिसकिन् र चाँडै नै बिहे गर्दै छिन् भन्ने ।
यतिवेला प्रियंकाले हलिउड प्रोजेक्ट छाड्ने खबरले चर्चा पाइरहेको छ ।
प्रियंका अमेरिकी टिभी सो ‘क्वान्टिको’को चर्चित भूमिका एलेक्स पेरिसबाट सदाका लािग टाढा भएकी छिन् । ‘क्वान्टिको’को तेस्रो सिजनको अन्तिम शृंखला अमेरिकन टिभी च्यानलमा ३ अगस्टको राति प्रसारित भयो ।
उक्त सोपछि प्रियंका चोपडाले सधैँको लागि बिदा लिइन् । प्रियंकाले सामाजिक सञ्जालमा छोटो नोट लेखेर उक्त टिभी सोको पात्र एलेक्स पेरिसलाई बिदाइ तथा अन्य सबै टिमलाई शुभकामना दिएकी थिइन् ।
सन् २०१५ बाट सो सिरियलमा जोडिएकी प्रियंकालाई यही सिरियलले संसारभर चिनाएको थियो ।