मरिश्कालाई सन्ध्या चुनौती
अभिनेत्री मरिश्का पोखरेलद्धारा अभिनित ‘पण्डित बाजेको लौरी’ साउन ४ गते प्रदर्शनमा आउन लागेको छ । सोलो फिल्मकी अभिनेत्री नभए पनि यो फिल्ममा पोखरेलको मुख्य भूमिका रहेको छ । अभिनेत्री सन्ध्या केसी पनि यस फिल्मकी प्रमुख पात्र हुन् । हालै सार्वजनिक गरिएको उक्त फिल्मको ‘चोली तुना’ बोलको गीतमा मरिश्कालाई निकै कम स्क्रिन स्पेस दिइएको छ । फिल्मको दुवै प्रचार सामाग्रीमा सन्ध्या हावी छिन् । कतै सन्ध्याको छायाँमा पर्ने डर त छैन ? फिल्मको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्न मरिश्कामाथी तेर्सियो ।
उनले जवाफ दिइन, ‘गीत र टीजरमा फिल्मको विस्तृत कुरा पस्कन सक्दैनौं । यो २–४ मिनेटमा हामीले जे देखाउन सक्यौँ त्यो नै देखाएका हौं । म छायाँमा पर्ने वा अन्य कलाकार छायाँमा पर्ने भन्ने कुरै हुँदैन ।’
उनी स्क्रिप्ट चित्त बुझेर मात्र फिल्म गर्ने हुँदा कसैको छायाँमा वा लाइमलाइटमा आउन फिल्म साइन गर्ने नगरेको बताउँछिन् । आफ्नो क्यारेक्टरलाई लिएर निकै खुसी रहेको उनको प्रतिक्रिया छ । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथा प्रस्तुत गरिएको ‘पण्डित बाजेको लौरी’मा मरिश्का र सन्ध्याका अलावा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकारहरुको पनि अभिनय छ ।