मरिष्काले निर्देशन गरेको दोस्रो म्युजिक भिडियो
नायिका मरिष्का पोखरेल चलचित्रसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लोपटक म्युजिक भिडियोकै निर्देशकका रूपमा पनि उदाएकी छन् ।
केही समयअघि गायक मुरारी गुरागाईंको एक गीतको म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले अर्को नयाँ भिडियो पनि निर्देशन गरेकी छन् ।
गीतकार होम न्यौपानेको शब्द तथा बीपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काको निर्देशक कला हेर्न पाइन्छ । मिसन इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको मेलोडियस र सकारात्मक माया झल्काउने भिडियोमा नायिका मरिष्का पोख्रेल र दृश्य सुवेदीको अभिनय छ ।
भिडियोमा मरिष्काको दृश्यसँगको भेट, उनीहरूको प्रेमविवाह अनि घरमा दुर्घटनामा परेपछि ह्वीलचेयरमा मरिष्का बस्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा नवीन भट्टको सम्पादन छ ।
भिडियो मिसन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो केही दिनभित्रै राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने गीतकार न्यौपानेले बताए ।