मायामा क्वाईन टस गर्दै सुनिल र अलिशा
साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को ‘आउ आज मायाको...’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द-संगीत रहेको छ । गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ ।
गीतको भिडियोमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।
यही फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ‘चिँ मुसी चिँ’ ले मद्दत गर्ने निर्माण पक्षले बिश्वास लिएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।
बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।