युलिया अब बलिउडमा
सलमान खानकी प्रेमिकाका रूपमा चर्चित युलिया वन्तुर अब बलिउड फिल्ममा देखिने भएकी छिन् ।
भारतीय पत्रपत्रिकाका अनुसार नयाँ फिल्ममा युलियाले पोल्यान्डकी एक त्यस्ती महिलाको भूमिका निर्वाह गर्नेछिन्, जो कृष्णभक्ती र भारतीय संस्कृतिबाट प्रभावित भएर आफ्नो देश छाडेर भारत आउँछिन् ।
‘मैँ और मिसेज खन्ना’ फिल्मका निर्देशक प्रेम सोनीले फिल्म निर्देशन गर्दै छन् । फिल्मका लागि निर्देशक प्रेम सोनी त्यस्तो विदेशी कलाकारको खोजीमा थिए, जसलाई हिन्दी बोल्न पनि आओस् । त्यसैले रोमानियाकी मोडल युलिया यसका लागि छनोटमा परिन् । यस फिल्मको सुटिङ पोल्यान्ड तथा भारतको दिल्ली र मथुरामा हुनेछ । फिल्ममा जिमी सेरगिल पनि महत्वपूर्ण भूमिकामा हुनेछन् ।
युलियाले मोडल एयर होस्टेस तथा रेडियो प्रस्तोताका रूपमा काम गरिसकेकी छिन् । उनले यसअघि नै ‘वीरे दी वेडिङ,’ ‘ओ तेरी’ र ‘रेस ३’का गीतमा स्वर दिएकी थिइन् ।
हालै एक अन्तर्वार्तामा उनले सलमान खानसँगको सम्बन्धका विषयमा नबोल्ने बताएकी छिन् । ‘व्यक्तिगत जीवन यति महत्वपूर्ण हुन्छ कि त्यसलाई अन्यबाट बचाएर र लुकाएर राख्नुपर्ने हुन्छ,’ उनले भनेकी थिइन् ।