वसन्तको ‘चाहतो के साये मे’विमोचन
कवि एवं लेखक वसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँ दिल्लीमा विमोचन गरिएको छ । बलिउडका गीतकार समीर ‘अन्जान’ले केही दिनअघि उक्त कविता संग्रहको विमोचन गरिएको नर्भिक अस्पतालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गीतकार समीर बलिउडका त्यस्ता गीतकार हुन् जसको नाम संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखेबापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरिएको छ । नयाँदिल्लीस्थित होटल ह्यात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यकारले कवि चौधरीको नयाँ पुस्तकको प्रशंसा गरे ।
पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । ‘चाहतो के साये मे’लाई ‘बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेड’अन्तर्गतको ‘टाइम्स ग्रुपबुक्स’ले प्रकाशन गरेको हो । २४२ पृष्ठको सो पुस्तकमा चौधरीले हिन्दी र उर्दू मिश्रित मिठासपूर्ण सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन् ।
उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर रहेको छ । कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । उनले मनलाई छुने काव्य कृति रचना गरेको भन्दै चौधरीको खुलेर प्रशंसा गरे ।