सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेड्रिनाले धानेको ‘नाइँ नभन्नू ल-५’

२०७५ भदौ १०, ०९:१९

दर्शक रुवाउने मात्र होइन स्टार कलाकार जन्माउने सिरिज पनि हो यो ‘नाइँ नभन्नू ल’ । बाल कलाकारमा अनुभव रेग्मीदेखि अहिलेका स्टार अभिनेता पल शाहसम्म यही फिल्मको सिरिजबाट चम्किएका हुन् ।  
अब यो प्रख्यात ब्रान्डको पाँचौ श्रृंखलाबाट नेपाली फिल्म क्षेत्रले केही वर्षका लागि बाल कलाकार र भविष्यका लागि सम्भावना बनेको अभिनेत्री पाएको छ । उनी हुन् सेड्रिना शर्मा । ‘नाइँ नभन्नू ल-५’ उनको डेब्यु फिल्म हो ।  
फिल्म रिलिज अगावै दर्शकमाझ राम्रो 'क्लिक' भइसकेकी उनको सुन्दरताको प्रशंसक धेरै छन् । उक्त फिल्ममा उनको बाल कलाकार अनुभव रेग्मीसँग जोडी बाँधिएको छ । बाल प्रेमकथामा निर्माण भएको यो फिल्म अनुभव र सेड्रिनाकै वरिपरि घुमेको छ । 
 दुईको प्रेमलाई देखाउन निर्देशक विकासराज आचार्यले कुनै अस्त्र प्रयोग गर्न छाडेका छैनन् । फिल्ममा दुवैलाई जति सुन्दर ढंगले प्रस्तुत गरिएको छ उस्तै घतलाग्दा संवादहरु पनि दिइएको छ । दुईको जोडी फिल्ममा कमालको देखिन्छ । 
 काठमाडौंबाट तीन हप्ते बसाईका लागि इलाम पुगेका अनुभव (नीर) लाई देखेपछि सेड्रिना (अन्जना) ले आमा (प्रियंका कार्की) ले सुनाउने गरेको वायुपंखी घोडामा राजकुमारीलाई लिन आएको दन्ते कथाको राजकुमार अर्थात् आफ्नो रियल हिरो सम्झन्छिन् ।  
विस्तारै उनीहरु नजिक हुन्छन् । इलामका रमणीय स्थान घुमाउँदा-घुमाउँदै अन्जना, नीरको प्रेममा चुर्लुम्म डुबिसकेकी हुन्छिन् । नीर भने अर्कै मकसदले त्यहाँ पुगेका हुन्छन् । तर, उनलाई अन्जनाको प्रेमले पलाग्न समय लाग्दैन । 
 यसअघि ‘नाइँ नभन्नू ल’ को सिरिज धान्ने अभिभारा अनुभवको काँधमा थियो । यसपाली भने त्यो जिम्मेवारी सेड्रिनाले उठाएकी छन् । उनी यस फिल्मकी मेरुदण्ड हुन् । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ ।  
पात्र र उनीहरूको प्रवृत्ति स्थापित गर्न बढी समय खर्चिएका कारण पहिलो हाफ उत्ति साह्रो दमदार छैन । दोस्रो हाफपछि फिल्मले गति समातेको छ भने सेड्रिनाले बुलन्द अभिनय गरेकी छन् । उनले आमालाई आफूले डायरीमा लेखेको मार्मिक वाक्य सुनाउँदै गर्दा जो कोहीको छाती ढक्क फुल्छ । 
 'वर्षको सबैभन्दा लामो दिनमा जन्मिँदैमा जीवन पनि कहाँ लामो हुन्छ र !' वर्षकै सबैभन्दा लामो दिन अर्थात् २१ जुनमा जन्मिएकी अन्जना (सेड्रिना) ले नीर (अनुभव) लाई यो संवाद भन्दै गर्दा कसैलाई पनि आँखामा आँशु रोक्न सजिलो हुन्न । 
 फिल्म हेरेपछि उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको सबैभन्दा बढी प्रशंसा भैरहेको छ । फिल्ममा उनी हरेक पात्रमाथि हाबी छिन् । मूल कथा नै उनको अगाडि-पछाडि मडारिएका कारण फिल्मभरी उनकै हालीमुहाली छ ।  
उनको उपस्थितिले फिल्ममा परेको धेरै खाल्टो पुर्ने काम गरेको छ । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा तत्काल सेड्रिनाले बाल कलाकारको अभाव पूरा गर्न सक्छिन् भने भविष्यमा नेपाली फिल्म क्षेत्रले उनलाई सम्भावना बनेको अभिनेत्रीको रुपमा हेर्न सक्नेछ । 

कमेन्ट लोड गर्नुस