‘नाईं नभन्नू ल’ मा केकी थिइन् पहिलो रोजाई
‘नाईं नभन्नू ल’, यो ब्रान्डसँग प्रायः अधिकांश नेपालीको भेट भएको छ । मनछुने गीतसंगीत, इमोसनल कथा र बाल कलाकार अनुभव रेग्मीका कारण विशेष बन्दै आएको यो फिल्मको चार सिरिज कुनै फ्लप भएनन् ।
अब यसै हप्ताको शुक्रवारबाट यो फिल्मको पाँचौ श्रृंखला प्रदर्शनमा आउँदैछ । यूट्युबमा सर्वाधिक रुचाइएको गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षीत बनेको ‘नाईं नभन्नू ल ५’ मा चौँथो पटक पनि अनुभव र अभिनेत्री प्रियंका कार्की निरन्तर छन् भने आधा दर्जन बढी चलेका कलाकारको अभिनय छ ।
केकी अधिकारी, निरुता सिंह, स्वस्तिमा खड्का, दीलिप रायमाझी पहिलो पटक यो सिरिजसँग आबद्ध भएका छन् । यस्तै, उक्त फिल्मबाट बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।
‘नाईं नभन्नू ल’ को इतिहास पल्टाउने हो भने अभिनेता जीवन लुईटेल र अभिनेत्री ऋचा सिंह ठकुरीबाट यो फिल्मको सुरुवात भएको थियो । जीवनले यो फिल्मको पहिलो र दोस्रो सिरिज गरे ।
तेस्रोबाट न जीवन न त ऋचा नै दोहोरिए । तेस्रोमा अभिनेता आर्यन सिग्देल जोडिए । चौँथोमा अभिनेता पल शाह र अभिनेत्री द्वय आँचल शर्मा र बर्षा राउतले लिड रोलमा ब्रेक पाएका थिए ।
‘नाईं नभन्नू ल ५’ रिलिजको संघारमा रहँदै गर्दा निर्देशक विकासराज आचार्यले एक ठूलो रहस्यको पर्दाफास गरेका छन् । उनका अनुसार, ‘नाईं नभन्नू ल’ मा ऋचा नभएर पहिलो रोजाई अभिनेत्री केकी अधिकारी थिइन् । ‘स्वर’ बाट डेब्यु गर्ने निर्णय गरिसकेका कारण उनले उक्त फिल्म छाड्नु परेको थियो ।
उनले ‘नाईं नभन्नू ल’ गर्न नभ्याउने भएपछि ऋचालाई अभिनेता जीवन लुईंटेलको अपोजिटमा अनुबन्ध गरिएको थियो । केकीलाई निर्देशक आचार्यले तेस्रो शृंखलामा पनि अप्रोज गरेका थिए ।
सोही समयमा अर्को फिल्मको सेड्युल जुधेपछि उनले दोस्रो पटक पनि उक्त फिल्म गर्न पाइनन् ।
तर, जब ‘नाईं नभन्नू ल ५’ अफर आयो उनले तेस्रो अवसर गुमाउन चाहिनन् । ‘जब मलाई ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ,’ केकीले भनिन् । उनी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् ।
‘हाम्रो लागि 'नाईं नभन्नू ल' फिल्म नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ उनले भनिन्, ‘त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ ।’
बसन्त सापकोटाको संगीत रहेको यस फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।
कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । ‘नाईं नभन्नू ल ५’ मा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।