सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नालापानी’ छायांकन उपरदाङ गढीमा

२०७५ असार ३, १०:१५

  ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को छायांकन चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ गढी’मा गरिएको छ। एक सातासम्म यहाँ छायांकन गरिएको निर्देशक रिमेश अधिकारीले बताए। उपरदाङ गढीको छायांकन सकिँदा चलचित्रको ९० प्रतिशत छायांकन सकिने र बाँकी १० प्रतिशत छायांकन राजधानीमा हुनेछ। २०७६ सालमा प्रदर्शनको लक्ष्य लिइएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानमा छायांकन भएको छ। उपरदाङ गढी चितवनको पुरानो सदरमुकाम हो। सन् १९६० को दशकको सुरुसम्म उपरदाङ गढीमा चितवनको सदरमुकाम रहेको बताइन्छ। ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ।  समुद्री सतहदेखि एक हजार दुई सय ७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे चौबीसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ।
गढीभित्र कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना छन्। चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाका ठूला टुक्रा, चुन र माटोले बनाइएको छ। उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोतघर छ। नालापानीको छायांकन उपरदाङ गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकाले यही स्थान रोजेको निर्माता मनोज शाक्यले बताए। अत्यन्तै साँघुरो बाटोमा नेपाल आर्मीको गाडी लिएर पुग्नु निकै जोखिमपूर्ण थियो। ‘नालापानीमा यही स्थान नै चाहिने भएकाले हामीले जोखिम मोलेरै भए पनि छायांकन गरेका हौं’, निर्माता शाक्यले बताए। भीएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टिम तथा भीएफएक्स टिम सँगै रहेर काम गरिरहेका छन्।
निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथबिना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए। ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रति कृतज्ञ छौं। सम्भवतः नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’, उनले भने। हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्ध युद्ध लडेको थियो। आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नु परेको थियो। त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो। नेपालले तत्कालीन वीर गोर्खाली सेनाका कप्तान बलभद्र कुँवरको नेतृत्वमा अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो। उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो। अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दागर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो। यसै विषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा.डा.धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित नालापानी बनिरहेको छ। नालापानीमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्ट, प्रनिश शाक्य, महावीर विश्वकर्मा, सुषमा भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ। पद्माकुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माता छन्। चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन्। विपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भीएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस