सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पण्डित बाजेको लौरी’ ले उकास्ला सन्ध्यालाई ?

२०७५ साउन ३, ०८:४४

 टेलिभिजन हेर्ने नियमित दर्शकका लागि सन्ध्या केसी अपरिचित अनुहार होइन । 
उनको सौन्दर्यले अभिनेता भुवन केसीलाई समेत मोहित बनाएको थियो, जसको प्रतिफल 'ड्रिम्स' मा उनले अभिनय गर्ने अवसर पाइन् ।  
अभिनेता अनमोल केसीको लिड रोल रहेको फिल्ममा काम गर्न पाउनु सन्ध्याका लागि चानचुने कुरा थिएन । तर, दुर्भाग्य ! 'ड्रिम्स' बक्सअफिसमा चम्किए पनि उनी पूरै ओझेलमा परिन् । यो उनको डेब्यु फिल्म थियो । 
 तर, उनी 'ड्रिम्स' लाई नभएर 'कमलेको बिहे' लाई आफ्नो डेब्यु फिल्म भन्छिन् । छायांकन सकिएर 'टाकान टुकुन' बोलको गीत यूट्युबमा हिट भइसक्दा पनि अझैसम्म यो फिल्मको रिलिज अन्यौलमा छ । उनले निकै आश गरेको फिल्म हो यो । 
 डेब्यु मानेको फिल्मको रिलिज अत्तोपत्तो नहुँदा रिलिजको हिसाबले उनको दोस्रो फिल्म बन्यो 'ह्याप्पी न्यू ईयर', जुन गएको वर्ष हलमा लागेको थियो । यो फिल्मले बक्सअफिसमा पानी समेत भन्न पाएन । 
 अब उनका यस वर्ष दुई फिल्म रिलिज हुँदैछन्, साउन ४ गते 'पण्डित बाजेको लौरी' र आउँदो असोज १२ गते 'कथा काठमाण्डू' । दुवै फिल्ममा उनी लिड रोलमा छिन् । 
 अहिले उनको यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'पण्डित बाजेको लौरी' का लागि कडै दौडधुप छ । यसमा उनले बादी महिलाको भूमिका निर्वाहा गरेकी छन् । फिल्मको सेन्ट्रल क्यारेक्टर नै उनी हुन् । 
 सन्ध्या यो फिल्मले आफ्नो खिया लागेर बसेको करिअरको ताल्चा खोल्नेमा विश्वस्त छिन् । पर्दामा बादी महिलाको एक प्रतिनिधि पात्रको भूमिका निर्वाहा गर्दैगर्दा उनले बादी महिलाको पीडालाई नजिकबाट बुझ्न पाएको अनुभव सुनाउँछिन् । 
 उनी भन्छिन्, 'कसलाई शरीर बेच्न मन हुन्छ होला र ? बादी समुदायका महिलाहरुको दर्दनाक पीडा सुनेर म आफैं स्तब्ध भएको थिएँ । यो फिल्मले बादी प्रथा उल्मुलन गर्छ भन्नेमा आशावादी छु ।' 
उनले बादी महिलाको भूमिका न्यायपूर्वक निर्वाहा गर्न स्थलगत अनुसन्धान गरेको पनि सुनाइन् । 
 'यो फिल्मको कुरा मसँग एक वर्ष अगाडि नै भएको थियो । मेरो भूमिका बादी महिलाको छ भनेपछि केही रिसर्च पनि गरेँ । राईटर, डाइरेक्टर र म दाङमा गएर केही बादी महिलाहरुसँग कुरा पनि गरेका थियौँ', उनले भनिन् । 
 यो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यो फिल्ममा देखाउन खोजिएको छ । 
 अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट लोड गर्नुस