‘ब्ल्याक’ युनिट पूर्वमा
देश दौडाहामा निस्किएको चलचित्र ‘ब्ल्याक’को टोली पूर्व आइपुगेको छ । १ भदौबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसारका क्रममा ‘ब्ल्याक’ युनिट झापा आएको हो ।
चलचित्रको मुख्य भुमिकामा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा छन् । चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ ।
चलचित्रमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतका कालाकारको अभिनय छ । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा मौनता श्रेष्ठको स्कृप्ट छ ।
प्रदीप श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।
आश्मा फिल्म्स कम्पनीको यो पहिलो चलचित्र हो । चलचित्र प्रेम कथामा आधारित रहेको बताइएको छ । निर्देशक श्रेष्ठले चलचित्रमा आफूले जीवनको रङ देखाउन खोजेको प्रतिक्रिया दिए ।
‘समाजमा कालो रङ निकै महत्वपूर्ण छ भन्ने कुरामा म विश्वस्त छु,’ निर्देशक श्रेष्ठले भने, ‘त्यसैले चलचित्रको नाम ब्ल्याक राखिएको हो, चलचित्रमा जन्म र मृत्युलाई पनि व्याख्या गरिएको छ ।’ चलचित्रले दर्शकको मन छुने निर्देशक श्रेष्ठको दाबी छ ।
झापा दमक घर भएकी निर्मात्री आश्मा पाण्डेले अभिभावक र बच्चाले पनि यो चलचित्र हेर्नैपर्ने बताइन् । चलचित्रका नायक आकाश र नायिका आँचलले चलचित्रमा आफूहरुले निकै मेहनत गरेको बताए ।
चलचित्र मुस्ताङ, स्याङ्जा, काठमाडौँ, सिन्धुली लगायत स्थानमा छायांकन गरिएको छ ।