आर्यनको आँखाले अभिनय गर्छ-साम्राज्ञी
सेलिब्रेटी भएपछि रियल लाइफमा के-के बदलाव आए ? त्यो उनलाई नै बढी थाहा होला तर रिल लाइफको पाटोमा भने उनको व्यस्तताले शिखर चुमेको छ ।
उनका हरेक गतिविधिमा मिडियाको जति चासो हुन्छ दर्शकमा पनि त्यो कम छैन । दोस्रो फिल्म 'ए मेरो हजुर २' पछि त झन् उनीमाथि दर्शकको मात्र होइन फिल्म क्षेत्रकै विश्वास अडिएको छ ।
अहिले उनलाई फिल्ममा लिएपछि निर्माताले आफ्नो लगानी सुरक्षित भएको महशुस गर्दछन् । कुनै समय अभिनेत्री रेखा थापामाथि यो विश्वास गर्ने गरिन्थ्यो ।
रेखापछि नायिकाको स्टारडमको भ्याकुम पुरा गर्ने अभिनेत्रीको रुपमा पनि साम्राज्ञीलाई हेर्न थालिएको छ ।
तर, दुर्भाग्य ! तेस्रो फिल्म 'तिमीसँग' बक्सअफिसमा नचल्दा उनीमाथि अनगिन्ती प्रश्नचिन्ह खडा हुन थालेका छन् । अभिनय शैली परिवर्तन नभएको आरोप पनि उनीमाथि लाग्न थालेको छ ।
उनले जति चाँडो लोकप्रियता हासिल गर्न सफल भईन् त्यो गुम्न रत्तिभर समय लाग्दैन । यहाँ जतिले चाँडो स्टारडम कमाएका छन् उत्तिनै चाँडो गुमाएका सेलिब्रेटीहरु पनि प्रसस्तै छन् । यसबाट आफूलाई अलग राख्न साम्राज्ञीलाई अब सजक हुनुपर्ने देखिन्छ ।
अचेल साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'कायरा' को प्रचारमा व्यस्त उनले यसमा चकलेटी ब्वाई आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् ।
यी दुईले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ ।
साम्राज्ञी 'कायरा' को स्क्रिप्ट औधि मन परेका कारण काम गर्न राजी भएको बताउँछिन् ।
उनी भन्छिन्, 'कायरा' को स्क्रिप्ट सुन्दा मन भारी भएर रुन मन लागेको थियो । आर्यन दाले मलाई स्क्रिप्ट सुनाउनु भएको थियो । सुरुमा ठिकै लाग्यो । सुन्दै गएँ सुन्दै गएँ । स्क्रिप्ट सुनिसक्दा त म आर्यन दाको सामुन्ने पो पुगिसकेको रहेछु ।'
७ कक्षा पढ्दैगर्दा फिल्म 'मेरो एउटा साथी छ' हेरेपछि उनी आर्यनको फ्यान भएकी रहेछिन् । उनी आर्यनको अभिनयको तारिफ गरेर थाक्दिनन् ।
उनी थप्छिन्, 'नबोलेरै उहाँको आँखाले अभिनय गर्छ । मैले उहाँ जस्तो नेचुरल अभिनय गर्ने कलाकार भेटेको छैन । उहाँको अभिनय देखेर मलाई डाहा हुन्छ ।'
'आर्यन दामा आफू स्टार हुँ भन्ने घमण्ड छैन । काम गर्न सहज हुनुहुन्छ', उनले थपिन् । साम्राज्ञीले भविष्यमा राम्रो प्रोजेक्ट मिले फेरि सँगै काम गर्न इच्छुक रहेको पनि बताइन् । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् ।
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।