सलमानको चलचित्रबाट बाहिरिन् कट्रिना
बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ बाट अभिनेत्री कट्रिना कैफ बाहिरिएकी छन् । सन् २०१९ को जुनमा रिलिज हुने यो चलचित्र अलि अब्बास जफरले निर्देशन गरेका छन् ।
अतुल अग्निहोत्री, अल्भिरा खान अग्निहोत्री, भुसन कुमार र क्रिसन कुमारको लगानी रहेको यस चलचित्रमा सलमान खान, प्रियंका चोपडा मुख्य भुमिकामा छन् ।
यस चलचित्रमा कट्रिनाले अभिनय गर्ने भनिए पनि उनका लागि प्रभावकारी भुमिका नभएपछि सहमती मै उनले चलचित्र छाडेको बताइएको छ ।
कुनै समय बलिउडमा ‘हट कपल’ मानिएका उनीहरु ब्रेकअपपछि केही समय सम्पर्क बाहिर रहे पनि पछिल्लो समय सलमानले कट्रिनालाई साथ र सहयोग गर्दै आएका छन् ।
सलमानको साथ र सहयोगकै कारण कट्रिनाको खस्किँदो करियर खतरा मुक्त भएको बलिउडमा चर्चा हुने गरेको छ ।
केही महिनाअघि प्रदर्शनमा आएको सलमान र कट्रिना अभिनित हिन्दी चलचित्र ‘टाइगर जिन्दा है’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।
बलिउडमा तीन खान सलमान, शाहरुख र आमिरसँग काम गर्न हरेक नायिका लालायित हुने गर्छन् । दुई स्टार खान आमिर र खाहरुखका साथमा भने कट्रिनाले नयाँ चलचित्रमा अभिनय गर्ने मौका पाएकी छन् ।
आदित्य चोपराको लगानीमा विजयकृष्ण आचार्य निर्देशित आमिर खानको बहुप्रतिक्षित चलचित्र ‘थग्स अफ हिन्दोस्तान’का लागि सलमानले नै कट्रिनालाई सिफारिस गरेका थिए ।
यो चलचित्र नोभेम्बरमा रिलिज हुँदैछ । त्यसैगरी शाहरुखका साथमा कट्रिनाले अभिनय गरेको चलचित्र ‘जिरो’ डिसेम्बरमा रिलिज हुँदैछ ।
आनन्द एल राय र शाहरुख पत्नि गौरी खानको लगानी रहेको यो चलचित्र आनन्द एल रायले नै निर्देशन गरेका हुन् । एजेन्सी