डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु
डोल्पा : डोल्पाको ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताए।
रावलको उपचारको क्रमबार सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडाँै किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताए। घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ।
मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा आज जुम्ला पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरु सोमबार आगो निभाउन गएका थिए। आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए।