भोटेकोशी बाढीपीडितका लागि आईविवी नेपालद्वारा ५० लाख सहयोग
धनगढी: नेपालमा आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकमलाई आधार बनाएर उक्त सहयोग जुटाएको हो। कम्पनीकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा प्रभावित परिवारका लागि सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताउनुभयो। आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरको साथ र विश्वासका कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग जुटाउन सम्भव भएको उहाँले बताउनुभयो।
सर्राफका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो। उहाँले यो सहयोग आईविवीको मात्र नभई उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर र डिलर सबैको योगदान रहेको बताउनुभयो।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोडेर राहत अभियान सञ्चालन गरेको जनाएको छ।
सर्राफले राहत अभियानको नेतृत्व गर्ने अवसर पाएकोमा आफूलाई गर्व लागेको बताउँदै विपद्का बेला सहयोग गर्ने सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्वयंसेवक तथा सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।