सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पालिकाबाटै २ शिक्षकलाई हाजिरी लगाउन रोक

२०८१ वैशाख १५, ०५:४७ कमल सावद

धनगढी : शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीमा पास भएका दुई जना शिक्षकले २०८० चैत २५ र २६ गते नियुक्ति बुझे। शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुरले दुबै जना शिक्षकलाई बेलडाँडी गाउँपालिकामा पदस्थापन गरेको पत्र दियो। 

तर, बेलडाँडी गाउँपालिकाले स्थायी शिक्षक खेमराज भट्ट र नन्दाकुमारी चन्दलाई हाजिर लगाउन दिएन। शिक्षक खेमराज भट्टले गाउँपालिकाका कारण हैरान भएको बताए। उनले भने, ‘२०८० सालको शिक्षक सेवा आयोगमा प्राथमिक तहमा चैत २५ गते नियुक्ती बुझेको हो। गाउँपालिका र शिक्षा विकासको द्धन्दको चपेटामा हामी छाँै। शिक्षा विकासमा हाजिर लगाउन दिन भनेका छौँ। तर, उहाँहरूले तलब दिन कुनै व्यवस्था छैन भन्दै आउनु भएको छ।’

शिक्षा विकास समन्वय इकाइ कञ्चनपुरले बेलडाँडी गाउँपालिकामा तीन जना तृतीय श्रेणीका शिक्षक पठाएकोमा दुई जना शिक्षकलाई फिर्ता पठाइएको हो। बेलडाँडी गाउँपालिकाको कार्यपालिका बैठकले एक जना शिक्षकलाई मात्र पदस्थापन गरेको छ। भट्ट र चन्दलाई शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुरमा फिर्ता पठाइएको छ। गाउँपालिकाले पदस्थापन हुन नदिएपछि दुबै शिक्षक काम विहीन बन्न पुगेका छन्। बेलडाँडी गाउँपालिकाका स्थानीय समेत रहेका हरिश जैशीलाई डोटी र सचिन कठायतलाई खोटाङबाट सरुवा गरेर ल्याइएको छ।

यस्तै, शिक्षक नन्दाकुमारी चन्दले नियुक्ति पत्र पाए पनि काम गर्न नपाएको बताइन्। उनले भनिन्, ‘बेलडाँडी गाउँपालिकाले पत्र दर्ता गरेन। एक जना मात्र मागेकोमा तीन जना पठाएको भन्दै पत्र दर्ता गर्न नमानेको हो। गत वर्ष पनि धेरै पठाएको भनेको थियो। हामीले चैत २६ गते नियुक्ति बुझेका हाँै। हामीसँगैका साथीहरूले हाजिर लगाउनु भएको छ। हामीले पाएका छैनाँै।’

जिल्ला शिक्षा समितिको पटक–पटक बैठक बस्दै आएको छ। तर, शनिवारसम्म कुनै निर्णय भएको छैन। बिहान १० बजे शिक्षा विकास समन्वय इकाइको कार्यालय पुगेर दुबै जना शिक्षक साँझ घर फर्किने गरेका छन्। तर, उनीहरूको विषयमा २० दिनसम्म कुनै निर्णय भएको छैन्। वैशाख ४ गतेबाट भीमदत्त नगरपालिकाको भृकुटी माध्यमिक विद्यालयसहित अन्यमा दरबन्दी खाली भएको छ। तर, भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूले समेत स्थायी २ शिक्षकलाई पदस्थापन गर्न मानिरहेका छैनन्। 

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख दीपक कलौनीले गाउँपालिकाका कारण समस्या भएको बताए। उनले भने,  ‘विद्यालय तोक्ने जिम्मा गाउँपालिकाको हो। हामीले पठाएका शिक्षक फिर्ता पठाइएको छ। रौल्यश्वर मावि बेलडाँडी र सिहँपालको आधारभूत विद्यालयमा २ सिट रिक्त रहेका छन। उहाँहरुले त्यहाँ नपठाएकाले समस्या भएको हो। एक जिल्लाबाट अर्काे जिल्लामा सरुवा हुन एक वर्ष भएको हुनुपर्छ। एक जनालाई डोटीबाट र अर्कोलाई खोटाङबाट ल्याएर सहमति दिएको छ। हामीलाई सरुवा गर्न भनेको थियो। तपाईले दिनु भएको सहमति हुँदैन र सरुवा गर्न पनि मिल्दैन भनेर हामीले भनेका हौ तर मानेका छैनन्।’ 

कञ्चनपुरमा स्थायी शिक्षकको पदस्थापनमा आर्थिक चलखेल भएकाले समस्या भएको दाबी गरिएको छ। तर समन्वय इकाइ प्रमुख कलौनीले आर्थिक चलखेलको कुनै प्रमाण आफूसँग नरहेको बताए। 

२०८० चैत २६ गते दुबै जनाले शिक्षकका लागि स्थायी नियुक्ति लिएका थिए। बेलडाँडी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भानुभक्त जोशीले कार्यपालिकाबाट सबै काम भएको बताए। शिक्षा शाखामा शिक्षकको पत्र नआएको उनले बताए। यता, गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले प्रयोग गर्ने ९८०१३७८६८५ नम्बरको फोन उठेन। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस