सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेसम्म चल्ने जिप चालकले क्षमताभन्दा ५ गुणा बढी यात्रु ओसार्दै

२०८१ वैशाख १९, १०:२४ कमल सावद

धनगढीः कैलालीको चौमाला–खैराला सडकमा दैनिक पाँचवटा निजी जिप सञ्चालनमा छन्। सार्वजनिक सवारी चौमाला–खैराला सडकमा सञ्चालनमा आएका छैनन्।

निजी जिपहरुले प्रति व्यक्तिबाट पाँच सय रुपैयाँ भाडा लिएर सेवा दिदै आएका छन्। तर, पाँच जना सिट क्षमताको जिपमा २५ जनासम्म राख्ने गरेको पाइएको छ। चुरे गाउँपालिका–२ वडाअध्यक्ष केशवबहादुर साउँदले ट्राफिक प्रहरीको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढेको बताए। उनले भने, ‘पाँच/छ जनाको सिटमा २५/२६ जना बोकेका हुन्छन्। दुर्घटनाको जोखिम छ। ट्राफिकलाई धेरै पटक भनेको हो। तर, सुन्नु भएको छैन।’

चौमाला झिल हुँदै खैरालासम्म चल्ने जिपहरुका कारण दुर्घटनाको जोखिम बढेको पटक–पटक स्थानीय तथा जनप्रतिनिधिहरुले ट्राफिक प्रहरीलाई भन्दै आएका छन्। तर, ट्राफिक प्रहरीले वास्ता गरेको छैनन्। जिपका सञ्चालक तथा चालकहरुले समेत जोखिमको विषयमा वास्ता गरेका छैनन्। नयाँ ट्रयाक निर्माण गरिएको कच्चि सडकमा क्षमताभन्दा पाँच गुणा बढी यात्रु ओसार्ने काम हुँदै आएपछि दुर्घटनाको जोखिम बढेको छ। ‘नयाँ बाटो हो। पुराना गाडिहरु छन्। सवारी धेरै भएर दुर्घटना हुने डर छ,’ उनले भने।

चौमाला–खैराला सडकसँग डोकेबजार–खिमडी सडकमा सञ्चालन हुने जिपहरुले समेत क्षमताभन्दा बढी यात्रु ओसार्दै आएका छन्। यस्तो काम नियमित रुपमा हुँदै आएपनि ट्राफिक प्रहरीले वास्ता गरेको छैन। जिपका सञ्चालकहरुले बढी आम्दानी गर्ने लोभमा ट्राफिक नियमविरीत यात्रु ओसार्ने काम गर्दै आएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतले चुरे पहाडका कच्ची सडकहरुमा सञ्चालन हुने सवारीले बढी यात्रु बोकेको विषयमा जानकार रहेको बताए। उनले भने, ‘खबर आएको छ। हामीले रोक्ने पनि गरेका छौ। तर, सबै ठाउँमा ट्राफिक प्रहरी राख्न सक्ने अवस्था पनि छैन।’

पूर्व–पश्चिम, महाकालीसहितका ठुला राजमार्गहरुमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दै आएको छ। तर, कच्चि सडकहरुमा जोखिम मोलेर यात्रा हुँदा पनि ट्राफिक प्रहरीले अनभिज्ञता प्रकट गर्दै आएको छ। ट्राफिक प्रहरीले बेवास्ता गर्दा जिप चालकहरुले यस्तो काम नियमित रुपमा गर्दै आएका छन्। जिपमा सवार यात्रुहरु भने जोखिम मोल्न बाध्य हुने गरेका छन्। जिल्लाको चुरे र मोहन्याल गाउँपालिकाको विभिन्न स्थानसम्म पुग्ने यात्रुहरुले जोखिम पूर्ण यात्रा गर्दै आएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस