सुदूरपश्चिमका ७ विद्यार्थी हमासबाट मारिए, विपिनको अवस्था अझै अज्ञात
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका कृषि संकायमा अध्ययनरत विद्यार्थीहरू “लर्न एण्ड अर्न” कार्यक्रमअन्तर्गत २०२३ को सेप्टेम्बरमा इजरायल पुगेका थिए। जसमध्ये ७ जना कहिल्यै नफर्किने गरी उतै अस्ताएका छन्। उनीहरू अध्ययनसँगै अनुभव र आम्दानी गर्ने सपना बोकेर इजरायल गएका थिए। उनीहरूले हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका हुन्।
हमासले गरेको आक्रमणमा अपहरणमा परेका विपिन जोशीको अहिलेसम्म लास र सासको अत्तोपत्तो छैन। २०२३ को अक्टोबर ७ को बिहान इजरायलमा आकाशबाट मिसाइल झर्न थालेका थिए। हमासले गरेको आक्रमणले नेपाली विद्यार्थीहरूको ज्यान लियो।
हमासको आक्रमणमा पर्ने कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी भने बेपत्ता भएका थिए। लामो खोजीपछि इजरायली सेनाले जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको विपिनको परिवारलाई जानकारी गराएको छ।
उक्त आक्रमणमा इजरायल–हमासको द्वन्द्वसँग कुनै सम्बन्ध नभएका १० नेपाली विद्यार्थी मारिएका थिए। तिनमध्ये सात जना सुदूरपश्चिमका थिए।
मृतकमा कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटीकै लमिखालका पदम, र सल्यान सारदाका प्रवेश भण्डारी थिए।
हमासको आक्रमणमा परेर चार नेपाली विद्यार्थी घाइते भएका थिए, उपचारपछि उनीहरू नेपाल फर्किएका छन्। सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थी हुन्। 'लर्न एण्ड अर्न' कार्यक्रमअन्तर्गत २६५ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए।