सहकारीले महिलाहरूलाई सशक्तीकरण गर्छ: राज्यमन्त्री खड्का
अत्तरिया: सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सहकारी संस्थाहरू महिलाहरूलाई सशक्त बनाउने माध्यम भएको बताएकी छन्।
शनिबार कैलालीको गोदावरी नगरपालिका–८ जमुनानगरस्थित सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारीको २२औँ साधारण सभामा बोल्दै उनले सहकारीको मुख्य काम महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने, आर्थिक उन्नति गर्न सहयोग गर्ने रहेको बताइन्।
उनले भनिन्, “सहकारी महिलाहरूको भेटघाट हुने थलो पनि हो,” र सृजनशील सहकारीले महिला एकताबद्ध हुने र क्षमतावान बन्ने सन्देश दिएको पनि उनले जोड दिइन्।
मन्त्री खड्काले सामाजिक विकास मन्त्रालयमा नियुक्त भएयता सुदूरपश्चिमका महिलाहरूको नीतिगत पक्षलाई प्राथमिकता दिएको, महिलासम्बन्धी कानुन बनाएको र बजेट विनियोजन भइरहेको जानकारी दिइन्। साथै उनले गाउँमा वा सहरमा बसेकी महिलाहरू नेतृत्वको भूमिकामा आउनुपर्नेमा जोड दिइन्।