मुख्यमन्त्री कमल शाह र भाजपा नेता रवि गुप्ताबीच पलियामा आत्मीय भेट
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र भारतीय जनता पार्टी (भाजपा) का नेता रवि गुप्ताबीच पलियामा आत्मीय भेट भएको छ। भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा मुख्यमन्त्री शाह रवि गुप्ताको निमन्त्रणामा पलिया पुगेका हुन्।
दिल्ली, हरिद्वारलगायत भारतका विभिन्न स्थानमा उच्चस्तरीय भेटवार्ता सकेर फर्किँदै गर्दा प्रोटोकलअनुसार अन्य नाका प्रयोग गर्नुपर्ने भए पनि पलियामा आयोजित स्वागत कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री शाह गौरीफन्टा नाकामार्फत नेपाल फर्किएका थिए।
पलिया आगमनका क्रममा भाजपा नेता रवि गुप्ताले आफ्नो टिमसहित मुख्यमन्त्री शाहको स्वागत गरेका थिए। सो अवसरमा उनलाई माल्यार्पण, अंगवस्त्र ओढाइ तथा श्रीमद् भागवत् गीता प्रदान गर्दै सम्मान गरिएको थियो।
भेटका क्रममा मुख्यमन्त्री शाहले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध अझ सुदृढ बनाउन दुवै देशका राजनीतिक नेतृत्व र जनस्तरबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपालमा कुनै पनि भारतीय नागरिकलाई समस्या हुन नदिइने र नेपाल भूमि भारतविरोधी गतिविधिका लागि प्रयोग हुन नदिइने प्रतिबद्धता व्यक्त गरे।
भाजपा नेता रवि गुप्ताले भारत–नेपाल सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या मुख्यमन्त्रीसमक्ष राख्दै समाधानका लागि पहल गर्न आग्रह गरे। मुख्यमन्त्री शाहले ती समस्याको शीघ्र समाधानका लागि आवश्यक कदम चालिने आश्वासन दिए।
भेटमा राष्ट्रिय स्वयंसेवक संघ नेपालसँग सम्बन्धित प्रतिनिधि, मुख्यमन्त्रीका प्रतिनिधिमण्डलका सदस्यहरू तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री कमल बहादुर शाह र भाजपा नेता रवि गुप्ताबीचको आत्मीय सम्बन्ध सीमावर्ती क्षेत्रका नागरिकका लागि सकारात्मक सन्देश भएको सहभागीहरूले बताएका छन्।