सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उमनपासहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित

२०८२ पुष १९, ०४:०९ नारायण अवस्थी

धनगढीः नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ। शनिवार प्राधिकरणको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गर्ने र नियमित महसुल बुझाउने ग्राहक सम्मानित भएका हुन्।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानरपालिका सहित उत्कृष्ट १० ग्राहकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, गोदावरी-५ मा रहेको लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि र नेपाल टेलिकम रहेका छन्।

यी दश वटा ग्राहकले सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा सम्मानित गरिएको हो। बढी विजुली खपत गरेर समयमै महसुल बुझाएको भन्दै महत्वपूर्ण ग्राहक भन्दै सम्मान गरिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख मनोजकुमार यादवले बताए।

नेपाल विद्युत प्राधिकरणले बढी विजुली खपत गरेर समयमै महसुल बुझाएको भन्दै सम्मानित गरेकोमा आफूहरू खुसी भएको सम्मानित भएका गोदावरी फ्लोर मिलका सञ्चालक मनोज अग्रवालले बताए। उनले जिल्ला तहमा समेत बढी विजुली खपत गर्ने र समयमै महसुल बुझाउने ग्राहकलाई प्राधिकरणले सम्मान गर्न सके राम्रो सन्देश जाने बताए।

नेपाल विद्युत प्राधिकरणका उप-कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आगामी वर्षदेखि प्रदेश र जिल्लाका उत्कृष्ट ग्राहकहरूलाई सम्मान गर्ने बताए। उनले गर्मी मौसममा धनगढी उपमहानरपालिका क्षेत्रमा भोल्टेजको समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न तत्काल लाइनमा सुधार गर्ने, नयाँ लाइन विस्तार गर्ने र ट्रान्सफर्मर थप्ने काम गरिने बताए। 'सुदूरपश्चिमको धनगढीमा सबैभन्दा बढी विद्युत खपत हुन्छ। गर्मीमा भोल्टेजको समस्या आउने गर्छ,' उनले भने, 'भर्खरै धनगढीका मेयर ज्यूसँग पनि कुरा भएको छ। उहाँले समस्या ब्रिफिङ गर्नुभएको छ। गर्मीमा धनगढीमा हुने लो-भोल्टेजको समस्या हल गर्न नयाँ लाइन विस्तार गर्ने र ट्रान्सफर्मर पनि थप्ने काम गर्छौँ।'

आउने गर्मीमा धनगढीमा भोल्टेजको समस्या आउन नदिने गरी प्राधिकरणले सुधारका काम गर्ने श्रेष्ठले बताएका छन्। उनले धनगढीका लागि १३२ केभीको सव-स्टेशन निर्माण गर्न सर्भे भएकाले उक्त कामसमेत अगाडि बढाइने बताएका छन्। नयाँ सव-स्टेशन निर्माण गरेर धनगढीमा आउने लो-भोल्टेजको समस्या हल हुने उनले बताए।

कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विजुलीको गुणस्तर राम्रो हुनुपर्ने बताए। उनले लोडसेडिङ हुन नदिएर, भोल्टेजको समस्या आउन नदिएर गुणस्तरमा सुधार गर्न प्राधिकरणले काम गरिरहेको बताए। 'अब विद्युतको गुणस्तर राम्रो हुनुपर्छ। लोडसेडिङ हुनु भएन, विद्युतको गुणस्तर सुधार गर्न हामी ध्यान दिन्छौँ,' उनले भने, 'धनगढीमा सबैभन्दा बढी विद्युत खपत छ, धनगढीका लागि अत्तरिया-धनगढी प्रसारण लाइन निर्माण गर्ने र दाङसम्म चार सय केभीको राष्ट्रिय प्रसारण लाइन पुगेपछि सुदूरपश्चिम क्षेत्रमा भोल्टेजको समस्या आउन्न; गुणस्तर सुधारमा प्राधिकरणले ध्यान दिएको छ।'

प्राधिकरणका प्रमुख शाक्यले बढी विद्युत खपत गरेर समयमै महसुल बुझाउने ग्राहकहरूलाई यो वर्षदेखि हरेक वर्ष हरेक वर्ष सम्मानित गर्ने कामको थालनी गरिएको बताए। उनले उत्कृष्ट ग्राहकले गरेको गुनासो समेत तुरुन्तै समाधान गर्न सबै वितरण केन्द्रमा परिपत्र गरेको बताए। उनले सम्मानित ग्राहकले गरेको गुनासो तुरून्तै समाधान गर्न विद्युत कार्यालयमा संयन्त्र निर्माण गर्न समेत निर्देशन दिइएको बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस