सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

२०८३ कार्तिक १५, १०:०१ रासस

काठमाडौँः राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो। सिक्टा आयोजनाले रु ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ।

पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ। बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। आयोजनाले पुस मसान्तसम्म रु ६१ करोड बराबरका चार वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ। सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ।
 

कमेन्ट लोड गर्नुस